


काठमाडौँ : भारतसँग जोडिएका सीमावर्ती बजारमा नेपाली ग्राहक घटेपछि भारतीय व्यापारीहरू नेपाल सरकारको नयाँ भन्सार नीतिविरुद्ध सडकमा उत्रिएका छन् । रक्सौल, जयनगरलगायत सीमावर्ती क्षेत्रमा व्यापारीहरूले प्रदर्शन गर्दै नीति फिर्ता लिन माग गरेका हुन्।
नेपाल सरकारले भारतबाट ल्याइने १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा ५ देखि ८० प्रतिशतसम्म भन्सार शुल्क अनिवार्य गरेपछि सीमापार किनमेलमा कमी आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसको असर किराना, पेय पदार्थ, बिस्कुट, फलफूललगायत दैनिक उपभोग्य वस्तुको व्यापारमा परेको बताइएको छ।
व्यापारीहरूले स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै निर्णयले आफ्नो जीविकोपार्जन संकटमा परेको बताएका छन्। केही प्रदर्शनमा प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध नाराबाजीसमेत भएको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ।
नेपाल सरकारले भने राजस्व संकलन बढाउने, अनौपचारिक व्यापार नियन्त्रण गर्ने र स्वदेशी व्यवसाय संरक्षण गर्ने उद्देश्यले नीति लागू गरिएको जनाएको छ। भारतले यसलाई नेपालको आन्तरिक विषय बताए पनि सीमावर्ती जनजीवन र परम्परागत व्यापार प्रभावित नहोस् भन्ने चासो व्यक्त गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |