


काठमाडौँ : भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाह सँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयसँगै लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद विस्तारबारे छलफल भएको रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार दुवै नेताबीच क्षेत्रीय हित, पारस्परिक चासोका विषय र समकालीन राजनीतिक मुद्दामाथि पनि विचार आदानप्रदान भएको थियो। लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीन को निमन्त्रणामा पाँचदिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली पुगेका हुन्।
भ्रमण टोलीमा उनकी पत्नी नीकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्। रास्वपाले भ्रमणलाई दुई देशका राजनीतिक तहबीच सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा व्याख्या गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |