


काठमाडौँ : वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व डिकबहादुर खत्रीले पाएका छन् । विशेष महाधिवेशनपछि सम्पन्न निर्वाचनमा खत्रीले ३४७ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी मेघनाथ भुर्तेल र हरिबहादुर पाण्डेले क्रमशः १९२ र १७० मत प्राप्त गरेका थिए।
निर्वाचन समितिका अनुसार प्रथम उपाध्यक्षमा महेश बस्नेत, द्वितीय उपाध्यक्षमा अनिल बोगटी र तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल निर्वाचित भएका छन्। त्यसैगरी महासचिवमा हरि डांगी, सचिवमा केदारनाथ अधिकारी तथा कोषाध्यक्षमा धनमाया सिन्जाली विजयी भएका छन्। सदस्य पदमा रमा खड्का, विवश ढुंगाना, ध्रुव जीसी, तारामणि राई, तारा तामाङ, रविन्द्र राई र भावना गजुरेललगायत निर्वाचित भएका छन्।
कुल ७३६ मत खसेको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। नयाँ कार्यसमितिले वैदेशिक रोजगार व्यवसायीका हकहितका मुद्दा उठाउनुका साथै व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधान, सरकारसँग समन्वय र नीतिगत सुधारका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। वैदेशिक रोजगार क्षेत्र मुलुकको विप्रेषण अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएकाले नयाँ नेतृत्वको भूमिकालाई व्यवसायीहरूले चासोका साथ हेरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |