


काठमाडौं : राहदानी खरिद प्रक्रियासँग सम्बन्धित भनिएको अनियमितताको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ। आयोगले यही प्रकरणमा व्यवसायी सिद्धार्थ थापालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।
पासपोर्ट खरिद प्रकरणबारे छानबिन गर्ने क्रममा अर्याल र थापालाई सादा पोशाकका प्रहरीमार्फत नियन्त्रणमा लिइएको बताइएको छ । उनीहरूलाई सोधपुछका लागि आयोगको नियन्त्रणमा राखिएको बताइएको छ।
राहदानी खरिद प्रक्रियामा सम्भावित अनियमितता भएको आशंकामा आयोगले केही समययता कागजात संकलन तथा सम्बन्धित व्यक्तिहरूसँग बयान लिने काम गरिरहेको थियो। यसै क्रममा अनुसन्धानको दायरा विस्तार गर्दै आयोगले दुवै जनालाई नियन्त्रणमा लिएको स्रोतको भनाइ छ।
अख्तियारले भने अनुसन्धान जारी रहेकाले यस विषयमा औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन। मुद्दासँग सम्बन्धित थप तथ्य र प्रमाणका आधारमा आगामी प्रक्रिया तय हुने जनाइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |