


पनौती : पनौती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
१९ औँ नगरसभाको पहिलो बैठकमा नगर प्रमुख रामशरण भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समृद्ध, स्वच्छ, सुरक्षित र आत्मनिर्भर नगर निर्माणलाई मुख्य लक्ष्य बनाइएको छ। नगरपालिकाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणसँगै विकास र समृद्धिका कार्यक्रमलाई अघि बढाउने जनाएको छ।

नीति तथा कार्यक्रमअनुसार नगरभित्र सडक, खानेपानी, सिँचाइ, कृषि उत्पादन वृद्धि, स्थानीय उद्यम प्रवर्द्धन तथा रोजगारी सिर्जनाका कार्यक्रमलाई निरन्तरता दिइनेछ। कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादनमा आधारित अनुदान, कृषक प्रोत्साहन, कृषि बजार व्यवस्थापन तथा पशुपालनको व्यावसायीकरणमा जोड दिइएको छ।
शिक्षातर्फ विद्यालयहरूको भौतिक तथा शैक्षिक सुधार, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार, सूचना प्रविधिमैत्री शिक्षण प्रणाली तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिका कार्यक्रम समेटिएका छन्। स्वास्थ्य क्षेत्रमा नगर अस्पतालको सेवा विस्तार, आधारभूत स्वास्थ्य सेवाको पहुँच वृद्धि तथा ज्येष्ठ नागरिक र विपन्न वर्ग लक्षित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

युवा तथा महिलालाई उद्यमशीलता विकासमार्फत आत्मनिर्भर बनाउने, सीपमूलक तालिम सञ्चालन गर्ने तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण तथा क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
नगरपालिकाले वातावरण संरक्षण, विपद् व्यवस्थापन, हरियाली प्रवर्द्धन, फोहोरमैला व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ। डिजिटल प्रविधिमार्फत सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउँदै सुशासन प्रवर्द्धन गर्ने लक्ष्य लिइएको नगर प्रमुख भण्डारीले बताए।

नगरसभामा उपप्रमुख गीता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओली, वडाध्यक्ष, नगरसभा सदस्य तथा कर्मचारीहरूको सहभागिता थियो। सभामा उठेका प्रश्नको जवाफ दिँदै नगर प्रमुख भण्डारीले नगरको विकास र समृद्धिका लागि जनप्रतिनिधि, कर्मचारी, निजी क्षेत्र र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताए।
नगरसभाको पहिलो बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ। नगरसभाको दोस्रो बैठक असार १० गते बस्ने तय गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |