


केशवप्रसाद चौलागाईं ।
“काली तारा महाविद्या षोडशी भूवनेश्वरी।
भैरवी छिन्नमस्ता च विद्या धूमावती तथा।।
बगला सिद्धविद्या च मातङ्गी कमलात्मिका।
एता दस महाविद्या सिद्धविद्या प्रकीर्तिता।।
दश महाविद्याको स्तुतिले सधै जागृत रहने ललितपुर महानगर सृष्टि ,ज्ञान र सम्पदाको विश्व केन्द्रका रुपमा पूजनीय रहेको छ।मल्ल राना श्रीनिवास मल्लका पालामा ललितपुर निवासी विद्वान् ब्राह्मण कुनु शर्माले ललितपुरको परिचय र पहिचानलाइ उच्च बनाउन लेखिएको कीर्तिपताकाको श्लोक ले पनि सभ्यताको परिचय गराउदै गौरान्वीत तुल्याएको छ।
“ॐ नमोः मत्स्यन्द्रनाथाय कीर्तिपताका।
यद्भक्ताया हरिधातृशक्रविबुधा देवारयश्चानिशम्
यत्पादाब्जनिषेवणादपगतं करुराति विघ्नारय: ।।
आराध्यार्वमन्यने हरमुखा गच्छन्ति सिद्दिं शिव
सोअयं वो हि गजाननर्श्च दुरितं दूरिकरोतु प्रभु: ।
जस्को भक्ति गरेर तथा जसका पाउको सेवा गरेर ब्रह्मा,विष्णु,इन्द्र,देव,दैत्यहरु सर्वदा विघ्नवाधा दुर गर्छन र समुन्द्र मन्थनमा महादेव प्रमुख निखिल देवताहरुले पनि जसको आराधना गरेर सिद्धिपाए।ती यिनै गणेशले तपाई सबै जनताको दुरित दुर गरून्।।
एवं प्रकार मत्स्येन्द्रनाथ र भगवान गणेशलाइ वन्दना गर्दै प्रारम्भ गरिएको कीर्तिपताका सुन्दर रचनाका साथै अमुर्त सम्पदा वन्न पुगेको छ।दैवी सृष्टिकालीन दस महाविद्या शक्ति पीठहरुको ज्ञान परम्परा र ईश्वरीय भक्तिले ओतप्रोत लिच्छवि ,मल्लकालीन राजाहरुले निर्माण गरेका सम्पदाहरुको वर्णनले आज यो क्षेत्र गौरान्वित हुन पुगेको छ।कीर्तिपताकामा २६ टोलको वर्णन भनेता पनि ३३ टोलको उल्लेख रहेको पाइन्छ ।
साथै मतया द्वीप जात्रामा भ्रमण गरिने ६० टोल,गणेश पूजामा भ्रमण गरिने ४४ गणेश मन्दिर हरु,कृष्ण पूजा जात्रामा पूजा गरिने सयौं मुर्तिहरु,मत्स्येन्द्रनाथ जात्रामा सहभागी हुने उपत्यकावासीहरु तथा अन्य जात्रा ,नाच,पर्वहरुको कारण ललितपुर दैवी उपस्थिति रहेको नगरका साथै स्वराज्य र मेलमिलापको अनुभुती गराउने नगरका रुपमा सम्मानित रहेको छ।प्रत्येक बर्ष जेष्ठ शुक्ल पूर्णिमाका दिन सिद्धिनरसिंह मल्लद्वारा रचिएका मेघ मल्लाहर ३१ कविताहरुको वाचन साहित्य सृजनाको महोत्सव बन्दछ।कुनै किसिमको भेदभाव नरहेको जात्रा पर्वका साथै उत्साहका साथ सहभागी हुने वातावरणका कारण सबैले आफ्नो ठान्ने स्वराज्यको अभ्यास भइरहेको पाइन्छ । खुला संग्रहालयका साथै द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका ,अनुसन्धानको आधारमा खुला विश्वविद्यालय बन्न पुगेको छ।
सभ्यता सम्वादको प्रतिष्पर्धामा समेत अग्रणी रहेको यो क्षेत्रलाई सिद्ध साधना र सभ्य व्यवहार मार्फत सफल बनाउन युवा वर्ग,प्राज्ञिक क्षेत्र तथा श्रद्धालुहरुको प्रयास महत्त्वपूर्ण बन्नेछ ।दस महाविद्या- स्वराज्य पूजन यात्रा सिद्ध साधनाका रुपमा प्रभावकारी बन्दै गइरहेको छ।वगलामुखीमा भक्तहरुको सहभागितामा सम्पन्न हुने “स्वराज्य भागवत” ले सुशासन ,मेलमिलापलाई समेत महत्त्व दिदै असल शासनका लागि बल प्रदान गर्नेछ ।जनप्रतिनिधि हरुलाइ सुशासन ,समृद्धिका लागि प्रेरित गर्दै मानवअधिकार ,कानुनी शासनका क्षेत्रमा धार्मिक समुदायले पुर्याइ रहेको योगदान बारे पनि अवगत गराउने छ।
भक्ति र समृद्धिलाई संग संगै अगाडि बढाउदै धार्मिक पर्यटन,द्वन्द्व व्यवस्थापनका लागि धार्मिक स्थल र कार्यक्रमहरुलमइ उपयोगी बनाउनेछ ।सौम्य शक्ति र सांस्कृतिक कुटनैतिक मार्फत मुलुकको प्रभाव बढ्न गई शान्ति क्षेत्र बन्नेछ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |