


काठमाडौँ : कान्तिपुर मिडिया ग्रुपका नवनियुक्त महाप्रबन्धक मनोज बस्नेतले मिडिया व्यवस्थापन (म्यानेजमेन्ट) को तुलनामा रिपोर्टिङ वा पत्रकारिता क्षेत्रमै बढी आत्मसन्तुष्टि र गर्व अनुभूति हुने बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई महाप्रबन्धक पदमा नियुक्त गरेको हो । ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश स्वारले बस्नेतको नियुक्तिको जानकारी दिँदै संस्थाले नयाँ व्यावसायिक उचाइ लिने विश्वास व्यक्त गरे । यसअघि बस्नेत दुई वर्ष अन्नपूर्ण मिडिया नेटवर्कमा महाप्रबन्धकका रूपमा कार्यरत थिए । उनले जेठ अन्तिम साता अन्नपूर्ण मिडियाबाट राजीनामा दिएका थिए ।
एक अन्तर्वार्ताका क्रममा महाप्रबन्धक बस्नेतले सञ्चार संस्थाको व्यवस्थापकीय भूमिका र स्थलगत पत्रकारिताबीच आकाश(पातालको फरक रहेको उल्लेख गरे । मिडिया उद्योगको मुख्य पहिचान र फेस नै पत्रकार, सम्पादक तथा संवाददाताहरू बुझिने भन्दै उनले व्यवस्थापन जहिले पनि पर्दापछाडि रहने स्पष्ट पारे ।
‘मिडिया इन्डस्ट्री भन्ने बित्तिकै यसको मुख्य खम्बा र बाहिर देखिने अनुहार भनेकै पत्रकार, प्रधान सम्पादक र सम्पादकहरू नै हुन्’, बस्नेतले भने, -‘सञ्चार संस्था तिनै पत्रकारहरूको आवरणमा बनेको हुन्छ । हामी व्यवस्थापन र अन्य विभिन्न विभागमा काम गर्नेहरू त केवल पर्दापछाडिका सहयोगी मात्र हौँ ‘।
म्यानेजमेन्टको भूमिका एउटा निश्चित परिधि र कार्यालयको घेराभित्र मात्र सीमित हुने तर पत्रकारिताको क्षितिज संसारभर फैलिएको उनको बुझाइ छ । लामो समय मिडिया व्यवस्थापनमा बिताएका बस्नेतले रिपोर्टिङ गर्दाको मज्जा र अनुभव व्यवस्थापकीय कुर्सीमा बसेर विरलै प्राप्त बताए ।
बस्नेतले अगाडि थपे, -‘एउटा पत्रकारको भूमिका यति महत्वपूर्ण हुन्छ कि ऊ संसारभर चिनिन सक्छ, उसको दायरा व्यापक हुन्छ । तर हामी व्यवस्थापनमा रहनेहरू कार्यालयकै वरिपरि केन्द्रित हुनुपर्छ । त्यसैले मलाई व्यवस्थापनभन्दा पनि रिपोर्टर वा जर्नालिस्ट हुनुमा बढी मज्जा लाग्छ र यसैमा गर्व महसुस हुन्छ ‘ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |