


काठमाडौँ : दक्षिण कोरियाको ई-७ भिसामा रोजगारीका लागि पर्खिरहेका नेपाली सीपयुक्त श्रमिकका लागि सरकारले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र अन्य प्रचलित कानुनअनुसार श्रमिक पठाउने व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्राचार गरेको हो।
कोरियाली दूतावासको कूटनीतिक नोट, परराष्ट्र मन्त्रालयको सिफारिस तथा उच्च अदालत पाटनको आदेशका आधारमा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै प्रक्रिया अघि बढाएको जनाएको छ। अब ई-७ भिसामा श्रमिक पठाउँदा गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट मागपत्र प्रमाणीकरण गरी सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्नेछ।
मन्त्रालयले आवश्यक व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ भने सियोलस्थित नेपाली दूतावासलाई पनि बोधार्थ पठाएको छ। लामो समयदेखि प्रक्रियागत अन्योलका कारण रोकिएको ई-७ भिसामार्फत रोजगारी अब कानुनी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |