

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सम्मानीत नेता झलनाथ खनालले छिमेकी चीनसँग समझदारी भइसकेका सीमापार पूर्वाधार परियोजनालाई तीव्रता दिनुपर्ने बताएका छन्। काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका आयोजना कार्यान्वयनमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरे।
एमसीसीअन्तर्गतका कार्यक्रम अघि बढे पनि बीआरआई र पार-हिमालय बहुआयामिक सम्पर्क सञ्जालका सहमति कार्यान्वयनमा सुस्तता आएको उल्लेख गर्दै खनालले रेल, सडक र सञ्चार पूर्वाधारको समयबद्ध निर्माणमा जोड दिए। नेपालको भूमि छिमेकी चीन वा उसका वैध सुरक्षा हितविरुद्ध प्रयोग गर्न नहुने उनको भनाइ छ ।
बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ‘ग्लोबल साउथ’को उदयलाई ध्यानमा राखेर नेपालले रणनीतिक स्थान बनाउनुपर्ने उनको भनाइ थियो। हालैको बाढीलाई लिएर चीनले पूर्वसूचना नदिएको भन्ने आरोप आधारहीन रहेको दाबी गर्दै खनालले जलवायुजन्य विपद्मा अन्तर्राष्ट्रिय सहयोग र सहकार्य आवश्यक रहेको टिप्पणी गरे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |