


काठमाडौँ : नेकपा एमालेले निर्वाचन पराजयको समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियान सम्पन्न गरेको छ। अभियान सकिएसँगै अध्यक्ष केपी शर्मा ओली र पुनर्गठन पक्षधर नेताहरूबीचको मतभेद झन् स्पष्ट देखिएको छ।
सबै प्रदेश, जनसंगठन, सम्पर्क समन्वय समिति तथा केन्द्रीय विभागबाट सुझाव संकलन गरिए पनि अध्यक्ष ओलीले नेतृत्व नछाड्ने अडान दोहोर्याएका छन्। सुझाव संकलनका क्रममा उनले आफूले कुनै गल्ती नगरेकाले नेतृत्वबाट नहट्ने र पार्टी निर्णयविरुद्ध सामाजिक सञ्जाल वा अन्य माध्यमबाट गतिविधि गर्नेहरूमाथि अनुशासनको कारबाही हुने चेतावनी दिएका थिए।
यद्यपि अधिकांश प्रदेश, जिल्ला र जनसंगठनका प्रतिनिधिले पार्टी पुनर्गठनको माग उठाएको नेताहरूले बताएका छन्। कतिपयले अध्यक्ष ओली र नेता महेश बस्नेतले सचिवालयको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनीहरूमाथि नै कारबाहीको मागसमेत गरेका छन्।
संकलित सुझावको प्रतिवेदन महासचिव शंकर पोखरेलले तयार पारिरहेका छन्। प्रतिवेदनमाथि केन्द्रीय कमिटी बैठकमा छलफल हुने भए पनि नेतृत्व र पुनर्गठन पक्षबीचको मतभेदका कारण साझा निष्कर्ष निकाल्न सहज नहुने संकेत देखिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |