


काठमाडौं : नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्लले नेपाल-भारत सीमा क्षेत्रमा रहेका जटिल समस्याहरूलाई गाली गरेर नभई कूटनीतिक संवाद र संस्थागत संयन्त्रमार्फत मात्रै समाधान गर्न सकिने बताएका छन्।
सीमा क्षेत्रका बहुआयामिक चुनौतीहरूलाई सम्बोधन गर्न दुवै देशका कूटनीतिक च्यानलहरू तत्काल सक्रिय हुनुपर्ने उनको जोड छ।
पिटिओ खबरसँग कुराकानी गर्दै उनले सीमा क्षेत्रमा आवतजावत, क्रस-मुभमेन्ट र दुवैतर्फका नागरिकले गर्ने खेतीपातीका कारण प्राविधिक तथा व्यावहारिक समस्याहरू देखा पर्ने गरेको बताए ।
पछिल्लो समय नेपालले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलका बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेपछि पुराना केही प्रवृत्तिमा परिवर्तन आए पनि कतिपय व्यावहारिक असमझदारी कायमै छन्।
राज्यका तर्फबाट स्पष्ट र संस्थागत धारणा बनाएर संवाद नगरे सीमा क्षेत्रमा थप जटिलता र अन्योल पैदा हुन सक्ने मल्लको तर्क छ । यस्ता संवेदनशील मुद्दालाई उत्तेजना फैलाएर नभई तय गरिएका कार्यविधि र कूटनीतिक च्यानलमार्फत सुल्झाउनु नै उपयुक्त विकल्प हुने पूर्व डिआइजी मल्ल बताउँछन् ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |