


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनतामाथि चुनौती बढिरहेका बेला कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै नयाँ ऊर्जा दिने ऐतिहासिक जिम्मेवारी आएको बताएका छन्।
नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले पुष्पलाल र नरबहादुर कर्माचार्यजस्ता नेताहरूको योगदान स्मरण गर्नु केवल औपचारिकता नभई आन्दोलनलाई पुनर्जीवित गर्ने सङ्कल्पको अवसर भएको बताए।
देशमा कम्युनिस्ट आन्दोलन असाधारण अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले राष्ट्रिय हित, लोकतान्त्रिक मूल्य र स्वाधीनताको रक्षाका लागि कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य रहेको धारणा राखे।
‘राष्ट्रिय स्वाधीनतामाथि देखिएको सङ्कट समाधान गर्ने, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र देशमा देखापरेको निरङ्कुश प्रवृत्तिविरुद्ध फेरि एकपटक सङ्घर्षमा उत्रिने दृढ अठोट गर्ने बेला आएको छ,’ प्रचण्डले भने।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |