


काठमाडौँ : प्रतिनिधिसभामा आज भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या केन्द्रमा रहने भएको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले वास्तविक भूमिहीन र सुकुमवासीको पहिचान, सुरक्षित आवास, आधारभूत सेवा, उचित क्षतिपूर्ति तथा स्थायी पुनःस्थापनाको प्रत्याभूति सुनिश्चित गर्दै यथाशीघ्र लालपूर्जा वितरण गर्न सरकारलाई निर्देशन दिने आशयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । प्रस्तावमा सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई समर्थक छन् ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन ९आव २०८१/८२० पेस गर्नेछिन् ।
यसैदिन अर्थ, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन गरी पाँच संसदीय समितिको बैठक पनि बस्दैछ । ती बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक, पर्यटन विधेयक, खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनलगायत विषयमा छलफल हुने कार्यसूची छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |