


काठमाडौँ : नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार राति भएको छलफलका क्रममा अस्वस्थ भएका थपलियालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीर अस्पताल लगिएको हो ।
उनका छोरा सुरज थपलियाका अनुसार उच्च रक्तचाप र रगतमा चिनीको मात्रा बढेपछि उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो । यसअघि भक्तपुरस्थित ठिमी अस्पतालमा प्राथमिक उपचारपछि उनी आरामका लागि फर्किएका थिए ।
घटनाबारे एमाले नेताहरूबीच भने फरक–फरक भनाइ आएका छन् । एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले छलफलका क्रममा धारणा राख्ने क्रममा भावुक हुँदा थपलियाको गला अवरुद्ध भएको विषयलाई केही सञ्चारमाध्यमले अतिरञ्जित गरेको दाबी गरेका छन् । तर बैठकमा सहभागी एक प्रदेश सांसदका अनुसार नेताहरूको प्रतिक्रिया पछि थपलिया बाहिरिने क्रममा बेहोस भएका थिए । त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |