


काठमाडौं : बागमती प्रदेश सरकार पुनर्गठनको समीकरण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी नहुने निर्णय गरेपछि थप जटिल बनेको छ। बिहीबार साँझ बसेको राप्रपा बागमती संसदीय दलको बैठकले सत्ता गठनको दौडमा नलाग्ने र प्रदेश सरकारमा सहभागी नहुने औपचारिक निर्णय गरेको हो।
सांसद कुमारी स्याङ्तानका अनुसार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्देशनअनुसार सर्वसम्मतिले उक्त निर्णय गरिएको हो। यससँगै एमालेका तर्फबाट मुख्यमन्त्रीका आकांक्षी किरण थापाको सरकार गठनको प्रयास प्रभावित भएको छ। उनी राप्रपाको समर्थनमा दाबी गर्ने तयारीमा रहे पनि निर्णयले तत्कालका लागि त्यसको सम्भावना टरेको छ।
यता मुख्यमन्त्री इन्द्र बानियाँ भने सरकार जोगाउने प्रयासमा छन्। उनले दुई सांसद रहेको हाम्रो नेपाली पार्टीलाई सरकारमा सहभागी गराइसकेका छन् भने राप्रपालाई पनि सरकारमा ल्याउने प्रयास जारी राखेका छन्। तर १०४ सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक ५३ मत जुटाउन राप्रपा र नेपाल मजदुर किसान पार्टीको समर्थनबिनाको अवस्था कठिन देखिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |