


काठमाडौं : मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि देशका अधिकांश भूभागमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ।
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थान आसपास तथा पश्चिमी क्षेत्रमा सरदरभन्दा केही उत्तरतर्फ रहेको छ। हाल बागमती, गण्डकी र सुदूरपश्चिमसहित विभिन्न प्रदेशका पहाडी भागमा सामान्य बदली छ भने केही स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रहने र हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि छ। राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ।
विभागले वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी सूचना हेर्न पनि विभागले अनुरोध गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |