


काठमाडौँ : सरकारले विद्युतीय एम्बुलेन्स तथा शव वाहनमा कर छुट दिने र तराईका दुई जिल्लामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्नेसहितका पाँच महत्त्वपूर्ण निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपालभित्रै उत्पादन हुने वा पैठारी गरिने विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय भएको जानकारी दिए। स्वास्थ्य तथा सामाजिक सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कदम चालिएको हो।
यस्तै, सुनसरी र सिराहा जिल्लामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई औपचारिक रूपमा सहिद घोषणा गरिएको छ।
मन्त्रिपरिषद्ले पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सलर कार्यालय खोल्न स्वीकृति प्रदान गरेको छ भने वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गरेको छ। त्यसैगरी, एनसेलको सेयर खरिद(बिक्री सम्बन्धमा पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गाल संयोजकत्वको समितिले बुझाएको छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने निर्णयसमेत सरकारले गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |