


काठमाडौँ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्र व्यक्ति वा पुरस्कारले नभई स्पष्ट पद्धति र नियमले मात्रै सबै कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सन्तुष्ट बनाउन सकिने बताउनुभएको छ। जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै नेता आचार्यले पार्टीको अधिकारलाई तल्ला तहसम्म विकेन्द्रीकरण गर्दै जगका पार्टी सदस्यहरूलाई शक्ति हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।
काठमाडौँमा भएको संस्थापनइतर समूहको भेलाले विधानसम्बन्धी प्रस्ताव पारित गरेर गत वर्ष सम्पन्न विशेष महाधिवेशनको औचित्यता र वैधानिकतालाई प्रमाणित गरिसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पार्टी नेतृत्वले सही समयमा सही निर्णय लिन नसकेका बेला महाधिवेशन प्रतिनिधिहरूसँग विशेष निर्णय गर्ने विशेषाधिकार हुन्छ। बहुसङ्ख्याक प्रतिनिधिहरूले त्यो ऐतिहासिक जिम्मेवारी पूरा गरिसकेका छन्, अब त्यसबाट माथि उठेर सबैलाई समेटेर अघि बढ्नुपर्छ।”
‘टाउको जोड्ने एकताले मात्र पुग्दैन’
पार्टी एकताको प्रसङ्ग कोट्याउँदै केन्द्रीय सदस्य आचार्यले केवल सङ्ख्या जोड्ने एकताले नपुग्ने र पार्टी नवीन नीति, चिन्तन तथा स्पष्ट मिसनका लागि एकाकार हुनुपर्ने बताउनुभयो। कांग्रेसले आफ्नो परम्परागत संरचनाभन्दा माथि उठेर नयाँ ‘जेन-जी’ (Gen-Z) पुस्ता, पार्टीबाहिर रहेका लोकतन्त्रप्रेमी जनमत, पेसा-व्यवसायी, बुद्धिजीवी, किसान र मिहिनेतकामी श्रमिकहरूलाई जोड्नुपर्ने उहाँको भनाइ थियो।
पार्टीमा सभापति गगन थापाले निर्माण गरेको नयाँ ऊर्जा र जोसिलो सम्भावनालाई मलजल गर्दै अघि बढ्नुपर्ने भन्दै उहाँले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पनि कुनै व्यक्तिको तजविजमा नभई निश्चित मापदण्ड र सिस्टमका आधारमा गठन तथा परिचालन गर्नुपर्ने धारणा राख्नुभयो।
अदालतप्रति विश्वास र वैधानिक महाधिवेशनको माग
स्वतन्त्र अदालतप्रति विश्वास व्यक्त गर्दै नेता आचार्यले संविधानभन्दा माथि कोही नभएको उल्लेख गर्नुभयो। संविधानले ५ वर्षभित्र महाधिवेशन गर्ने बाध्यकारी व्यवस्था गरेकाले पार्टी अब विधिवत् रूपमा महाधिवेशनको प्रक्रियामा प्रवेश गर्नुपर्ने उहाँको जोड थियो।
यसैगरी, लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्डका रूपमा रहेका ट्रेड युनियन अधिकार, विद्यार्थी हकहित, कानुनी शासन र मौलिक अधिकारको रक्षार्थ नेपाली कांग्रेस दृढताका साथ उभिनुपर्ने स्पष्ट पार्नुभयो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |