


काठमाडौँ : नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापति पदका लागि आफू आकांक्षी रहेको खुलासा गरेका छन्। शनिवार काठमाडौँमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले साथीहरूसँगको परामर्शपछि मात्रै अन्तिम निर्णय लिने स्पष्ट पारेका हुन्।
सभापतिको दौडमा रहे पनि पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा आफू बिलकुलै नरहेको उनले बताए। इतर समूहकै अर्का नेता डा। शेखर कोइरालासँग आफ्नो उत्कृष्ट समझदारी रहेको उल्लेख गर्दै शशांकले यदि शेखर नै नेतृत्वका लागि सर्वसम्मत अघि बढेको खण्डमा आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। पार्टीभित्रका सम्भावित असमझदारीलाई संवादकै माध्यमबाट समाधान गर्न सकिनेमा उनी आश्वस्त देखिए।
पार्टीको भावी कार्यदिशाबारे बोल्दै डा। कोइरालाले अब काँग्रेस सैद्धान्तिक बहसभन्दा माथि उठेर विकास र समृद्धिको एजेण्डामा केन्द्रित हुनुपर्नेमा जोड दिए। नीति र विचार राम्रो भए मात्रै जनतालाई आकर्षित गर्न सकिने बताउँदै उनले संगठनलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्ने धारणा राखे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |