

काठमाडौँ : अदालतको आदेशसँगै पत्रकार किशोर श्रेष्ठको गैरकानुनी हिरासत अन्त्य भएको छ। समाचार र तस्बिर प्रकाशन गरेकै आधारमा प्रहरी नियन्त्रणमा लिइएका जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई सर्वोच्च अदालतले हिरासतमुक्त गरेर अनुसन्धान गर्न आदेश दिएको हो।
न्यायाधीशद्वय डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठकी पत्नीद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्न भनेको हो। अदालतले प्रेस स्वतन्त्रताको उपभोग गर्दै प्रकाशित सामग्रीका आधारमा मात्रै व्यक्तिको व्यक्तिगत स्वतन्त्रता हनन् गर्न र फौजदारी कानुन आकर्षित गरी हिरासतमा राख्न नमिल्ने स्पष्ट पारेको छ।
साथै, अनुसन्धानका नाममा प्रहरीले श्रेष्ठको निवास तथा कार्यालयबाट बरामद गरेका ल्यापटप, सीपीयू लगायतका विद्युतीय सामग्रीहरू पनि तत्काल फिर्ता गर्न सर्वोच्चले आदेश दिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |