काठमाडौं : सञ्चालन आम्दानी झन्डै पाँच गुणा बढाउन सफल ट्रेड टावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा भने नाफा जोगाउन सकेन।
खर्च र वित्तीय भार तीव्र बढेपछि कम्पनीको खुद नाफा ९९.३९ प्रतिशतले घटेर १ लाख ३० हजार रुपैयाँमा सीमित भएको हो। विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी ९ करोड ९८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४६९.४८ प्रतिशतले बढी हो। तर कुल खर्च १२२.९१ प्रतिशत र वित्तीय खर्च १९३.४४ प्रतिशतले बढेपछि आम्दानी नाफामा रूपान्तरण हुन सकेन।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ६१ पैसा कम भएर २ पैसामा झरेको छ। गत असार मसान्तसम्म प्रतिशेयर नेटवर्थ भने १०५ रुपैयाँ ९३ पैसामा कायम रहेको छ। ८१ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटी ४ करोड ८३ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।