

काठमाडौँ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारले धुलिखेल अस्पतालमा एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा पाउने भएका छन्। बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षति र प्रभावित क्षेत्रका नागरिकको दीर्घकालीन स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अस्पतालले उपचारमा लाग्ने खर्च छुट दिने निर्णय गरेको हो।
अस्पतालद्वारा भदौ २१ गते जारी प्रेस विज्ञप्तिअनुसार प्रभावित परिवारको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन र आर्थिक भार कम गर्न यो सुविधा दिन लागिएको हो। निःशुल्क उपचारका लागि अपनाउनुपर्ने प्रक्रिया र आवश्यक कागजातबारे चाँडै जानकारी दिइने अस्पतालले जनाएको छ।
यसका साथै प्रभावित क्षेत्रमै पुगेर स्वास्थ्य कार्यक्रम सञ्चालन तथा सहकार्य गर्नेसमेत अस्पतालको तयारी छ। विपद्को यस घडीमा बाढीपीडितप्रति समवेदना व्यक्त गर्दै धुलिखेल अस्पतालले स्वास्थ्य, पुनःस्थापना र पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अस्पतालको यो पहलबाट पीडित परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |