काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीमा र्याली, जुलुस, सभा र प्रदर्शनजस्ता कार्यक्रम गर्न रोक लगाएको छ। विभिन्न समूहले आज आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्याली तथा सभा–प्रदर्शनमा प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको हो ।
गत भदौ २३ गतेको जेनजी आन्दोलनपछि तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेका घटनाको सन्दर्भमा प्रशासनले यस्तो निर्णय गरेको हो। शान्ति–सुरक्षा कायम राख्ने, सार्वजनिक सम्पत्ति जोगाउने र सेवा प्रवाह सुचारु राख्ने उद्देश्यले निर्णय गरिएको प्रशासनको भनाइ छ।
कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘विभिन्न समूहहरूबाट हुने भनिएका र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शनले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले यस कार्यालयले यस्ता कार्यक्रम गर्न कोही कसैलाई स्वीकृति नदिने निर्णय गरेको छ।’ प्रशासनले उक्त निर्णय स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) र प्रहरी ऐन २०१२ को दफा १९ बमोजिम गरेको स्पष्ट गरेको छ।