

काठमाडौं : आगामी निर्वाचन र परिवर्तनको संस्थागत स्वरूपबारे साझा धारणा बनाउन सरकारले आज दलका प्रतिनिधि र नयाँ पुस्ताका अगुवाहरूसँग त्रिपक्षीय छलफल गर्न लागेको छ।
प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका दोस्रो तहका नेताहरू र जेनजीका विभिन्न ८–९ समूहका प्रतिनिधि सहभागी हुनेछन्।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार बैठकले निर्वाचन सफल पार्ने तयारी र परिवर्तनलाई स्थायी रूप दिन सक्ने उपायबारे गहिरो छलफल गर्ने उद्देश्य राखेको छ।
यो पहिलोपटक हो, जब प्रधानमन्त्रीले दलहरू र जेनजी नेतृत्वलाई एउटै मञ्चमा राखेर प्रत्यक्ष संवादको पहल गरेकी छन्।
