

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार पनि स्थगित भएको छ । दिउँसो १ बजेलाई तय गरिएको बैठक बस्दै नबसी स्थगित गरिएको सूचना पार्टी कार्यालयले प्रकाशित गरेको छ।
यसअघि शुक्रबारका लागि बोलाइएको बैठक पनि बस्नुअघि नै स्थगित गरिएको थियो। लगातार दोस्रोपटक बैठक स्थगित भएपछि पार्टीभित्रको आन्तरिक मतभेद अझ प्रस्ट रूपमा बाहिर आएको छ।
कांग्रेसभित्र अहिले आगामी १५औँ महाधिवेशनको मिति र समयलाई लिएर तीव्र विवाद छ। वर्तमान सरकारले घोषणा गरेको आम निर्वाचन ९फागुन २१० पछि महाधिवेशन गर्ने कि त्यसअघि गर्ने भन्ने विषयमा संस्थापन र महामन्त्री समूहबीच सहमति बन्न सकेको छैन।
महामन्त्रीहरू मध्ये विश्वप्रकाश शर्मा ले महाधिवेशनको मिति भोटिङमार्फत टुंग्याउनुपर्ने प्रस्ताव समेत गरेका छन्। संस्थापन पक्ष र महामन्त्री समूहले फरक–फरक कार्यतालिका पेश गरेपछि बैठकमा सहमति नजुटी पुनः स्थगित गरिएको हो।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, अर्को बैठक कात्तिक १८ गते मंगलबार दिउँसो १ बजेका लागि तय गरिएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिलाई उपस्थित हुन अनुरोध गरिएको छ।
