

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार रिहा हुने भएका छन्। उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा भएपछि उनलाई रिहा गरिने तय भएको हो ।
उच्च अदालतको आदेश कार्यान्वयनका लागि लामिछानेलाई आज रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदैछ। जिल्ला अदालतबाटै प्रक्रिया पूरा गर्नुपर्ने भएकाले उनलाई रूपन्देही ल्याउन लागिएको उच्च अदालत तुलसीपुरले जनाएको छ ।
रास्वपा नेता दीपक बोहराका अनुसार लामिछानेलाई केही बेरपछि नख्खु कारागारबाट रूपन्देही लैजाने तयारी भइरहेको छ। न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मञ्जुर हुने कागज गराएर रिहा गर्न आदेश दिएको थियो।
उक्त आदेशअनुसार लामिछानेको भागमा परेको बिगो वापत दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत प्रमाणीकरण तथा सनाखत प्रक्रिया पूरा गर्नुपर्ने भएकाले उनलाई रूपन्देही ल्याउन लागिएको हो। उनी स्वयं जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले बिहीबार रिहा हुन नसकेको बताइएको छ।
सबै कागजी प्रक्रिया पूरा भएपछि शुक्रबार नै उनलाई रिहा गरिने जनाइएको छ। उच्च अदालतकै आदेशअनुसार चैत २५ गते लामिछानेलाई पूर्पक्षका लागि कारागार चलान गरिएको थियो। पछि साउन ३१ गते उनलाई नख्खु कारागार ल्याइएको थियो ।
