


काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थितिमा जिम्मेवार ढङ्गले परिवर्तनको पक्षमा अघि बढ्नु अपरिहार्य रहेको बताएका छन् । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पार्टी र समग्र राजनीतिक शक्तिहरूले आत्मसमीक्षा गर्दै सुधारको बाटो रोज्नुपर्ने धारणा राखेका हुन् ।
उनले देश र जनताप्रतिको जिम्मेवारीलाई केन्द्रमा राखेर पार्टीले आफ्ना सबल र दुर्बल पक्षको समीक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता व्यवहारमा उतारिरहेको उल्लेख गरे । यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष अझै जारी रहेकाले सचेत र जिम्मेवार निर्णय आवश्यक रहेको उनको भनाइ छ ।
प्रचण्डले सन् २०२५ मा जेन–जी युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ संकेत दिएको उल्लेख गर्दै पुराना संरचना र कार्यशैलीमा गहिरो सुधार आवश्यक भएको बताए । तरल राजनीतिक अवस्थामा अग्रगामी शक्तिबीच समझदारी र राष्ट्रिय एकता अपरिहार्य भएको उल्लेख गर्दै उनले निष्पक्ष निर्वाचन र राष्ट्रिय स्वाधीनताको रक्षा साझा दायित्व भएको बताए । नयाँ वर्षले सबै नेपालीका लागि स्थिरता, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना पनि उनले व्यक्त गरेका छन् ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |