

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता देखिएको छ। विशेष महाधिवेशनको उद्घाटन समारोहमा कुल महाधिवेशन प्रतिनिधिमध्ये ६२ दशमलव ४ प्रतिशतले नाम दर्ता गराएका छन्। पार्टीका अनुसार करिब ६२ प्रतिशत प्रतिनिधि उद्घाटन कार्यक्रममा प्रत्यक्ष सहभागी भएका हुन्।
नेपाली कांग्रेसमा कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। तीमध्ये बहुमत प्रतिनिधिको सहभागिताले विशेष महाधिवेशनप्रति पार्टीभित्रको चासो र सक्रियता देखिएको विश्लेषण गरिएको छ।
यसअघि असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरिएको थियो। तर संस्थापन पक्षले सो मागलाई बेवास्ता गरेपछि पार्टीका महामन्त्रीद्वयले विधानअनुसार विशेष महाधिवेशन आह्वान गरेका थिए।
पार्टीभित्र देखिएको आन्तरिक विवाद, संगठनात्मक संरचना र नेतृत्वबारे छलफल गर्न विशेष महाधिवेशन महत्वपूर्ण मानिएको छ। महाधिवेशनबाट कांग्रेसको भावी दिशा र आन्तरिक एकताबारे स्पष्ट सन्देश जाने अपेक्षा गरिएको छ।
