

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताएका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले सभापति शेरबहादुर देउवालाई छैटौं पटक प्रधानमन्त्री नबन्न सुझाव दिइसकेको बताए।
महामन्त्री शर्माले भने, “पार्टीभित्र र बाहिर सबैले सुनुन्, यो विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री नबन्ने निर्णय गर्छ।” उनले ३४ वर्षमा ३० पटक प्रधानमन्त्री नियुक्त भएपछि नेताहरू त सन्तुष्ट भए पनि जनताको असन्तुष्टि अझै कायम रहेको बताए।
शर्माले जनताको गुनासो, असन्तुष्टि र सेवाग्राहीले भोगेका समस्यालाई विशेष महाधिवेशनमार्फत विस्तृत रुपमा विश्लेषण गर्ने पनि प्रतिबद्धता व्यक्त गरे। “कोठा–कोठा घुम्दा सिडिओलाई सञ्चो लाग्थ्यो होला, तर जनतालाई लागेन,” उनले भने।
महामन्त्री शर्माको यो अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक छलफल र भविष्यको नेतृत्व निर्णयमा जनताको आवाज र मागलाई केन्द्रमा राख्ने संकेत गरेको विश्लेषकहरूले बताएका छन्।
