

काठमाडौं : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने स्पष्ट पारेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै मितिअनुसार निर्वाचन प्रक्रिया अघि बढ्ने बताएका छन्।
आयोगको कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले माघ ६ गते नै उम्मेदवारी मनोनयन दर्ता हुने जानकारी दिए। कार्यतालिका चार महिना अगाडि नै सार्वजनिक भइसकेको र त्यसअनुसारका अधिकांश कार्यसम्पादन पूरा भइसकेकाले अब कुनै पनि कार्यक्रम थपघट वा संशोधन नहुने उनको भनाइ थियो।
मनोनयन दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको उल्लेख गर्दै उनले निर्वाचन आचारसंहिता पनि लागू भइसकेको जानकारी दिए। आयोगले निर्धारण गरेको समयसीमाभित्रै उम्मेदवारी दर्ता हुने र त्यसपछि कानुनअनुसार जाँचबुझलगायतका प्रक्रिया अघि बढाइने भण्डारीले बताए।
तोकिएकै मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने आयोगको प्रतिबद्धता रहेको उनले दोहोर्याए।
