

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मनोनयनपत्रमाथि उजुरी दर्ताको समय खुला गरिएको हो।
आयोगका अनुसार दर्ता भएका उजुरीसहित मनोनयनपत्रको जाँचबुझ गरी आवश्यक निर्णय माघ ८ गते साँझ ५ बजेसम्म गरिनेछ। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ। माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। त्यसपछि दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिन्ह वितरण गरिने आयोगले जनाएको छ।
यसअघि देशभरका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगको भनाइ छ। आयोगका अनुसार हालसम्म २ हजार ९२५ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये ३३६ महिला र २ हजार ५८९ पुरुष उम्मेदवार छन्। अपाङ्गता भएका ८५ र पिछडिएको क्षेत्रका १३८ जनाले उम्मेदवारी दिएका छन्।
