


काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक प्रचार–प्रसार सुरु भएको छ । मतदान मितिभन्दा १५ दिनअघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइने कानुनी व्यवस्थाअनुसार दल र उम्मेदवारले फागुन १८ गते राति १२ बजेसम्म मतदातासमक्ष आफ्नो एजेन्डा प्रस्तुत गर्न पाउनेछन् ।
निर्वाचन आयोगले आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लङ्घन भए शून्य सहनशीलताका आधारमा कारबाही गरिने जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार उल्लङ्घनकर्तासँग स्पष्टीकरण सोध्ने, आवश्यक परे दण्डजरिवाना वा उम्मेदवारी खारेजीसम्मको व्यवस्था छ ।
आयोगले प्रचारका क्रममा हुने खर्चको विवरण अनिवार्य रूपमा निर्वाचन कार्यालयमा बुझाउन निर्देशन दिएको छ । साथै सामाजिक सञ्जाल र अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने चेतावनी दिएको छ । दलहरूले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |