


झापा : राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट झापा–५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार वालेन्द्र शाहले सोमबार आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गर्दै बेथिति र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको अडान दोहोर्याएका छन्। राजनीतिलाई पेसा नभई सेवा बनाउने प्रतिबद्धता जनाउँदै उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राखेका छन्।
शाहले सामुदायिक विद्यालयमा ‘स्मार्ट क्लास’ र प्रयोगशाला स्थापना गर्दै विद्यालय छोड्ने दर शून्यमा झार्ने लक्ष्य अघि सारेका छन्। स्वास्थ्यतर्फ विपन्नका लागि निःशुल्क उपचार, दमक अस्पताललाई ३०० शय्यामा स्तरोन्नति तथा घरदैलो स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गर्ने योजना उल्लेख छ।
कृषि आधुनिकीकरणका लागि कन्काई–रतुवा सिँचाइ विस्तार र ‘एक पालिका, एक शीत भण्डार’ अवधारणा अघि सारिएको छ। दमक–रवि–चिसापानी सडक, हुलाकी सडक तथा पुल निर्माण समयमै सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। भूमिहीन तथा सुकुम्बासी समस्या समाधानका लागि कानुनी पहल गर्ने उनले बताएका छन्।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |