


काठमाडौँ : पश्चिम एशियामा चर्किएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपाल आयल निगमले स्वदेशी बजारमा इन्धनको मूल्य पुनः बढाएको छ।
निगमले चैत १ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरिएको हो।
नयाँ समायोजनपछि तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ तथा डिजेल र मट्टितेल १५२ रुपैयाँ पुगेको छ। दोस्रो वर्गका सुर्खेत र दाङमा पेट्रोल १७१ रुपैयाँ र डिजेल १५१ रुपैयाँ कायम गरिएको छ। तराईका जिल्लाहरू पर्ने पहिलो वर्गमा पेट्रोल १६९।५० रुपैयाँ र डिजेल १४९।५० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोल, डिजेल र ग्यासको लागत उल्लेख्य रूपमा बढे पनि मूल्य स्थिरीकरण कोष प्रयोग गरेर सीमित दरमै मूल्य बढाइएको निगमको दाबी छ। मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने बताइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |