


काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले अध्यादेशमार्फत देशमा देखिएका विकृति अन्त्य गर्न आवश्यक कदम चालिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले अध्यादेश कुनै दलविरुद्ध नभई समग्र प्रणाली सुधार र भविष्य संरक्षणको प्रयास भएको स्पष्ट पारेका छन्।
उनका अनुसार शिक्षालय र कर्मचारीतन्त्रमा बढ्दो दलगत प्रभाव हटाउन यो निर्णय गरिएको हो। वर्षौंदेखि विद्यार्थी र कर्मचारी संगठनहरू दलगत स्वार्थमा केन्द्रित हुँदा योग्यता र क्षमता भन्दा पहुँचको मूल्य बढेको उनले उल्लेख गरेका छन्। यसले सार्वजनिक संस्थाप्रति जनविश्वास कमजोर बनेको पनि उनको भनाइ छ।
प्रधानमन्त्री शाहले अब नियुक्ति, सरुवा र बढुवामा दलगत प्रभाव अन्त्य गरी विधि, क्षमता र दक्षतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनले विद्यार्थीले सभ्य र जिम्मेवार राजनीति सिक्नुपर्ने तथा कर्मचारीले निष्पक्ष रूपमा जनताको सेवा गर्नुपर्ने धारणा राखेका छन्।
जनताको चाहनाअनुसार सरकारले अध्यादेशमार्फत सुधार अघि बढाएको भन्दै उनले सबैको साथ र विश्वास आवश्यक रहेको बताएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |