


काठमाडौँ : सुदूरपश्चिम प्रदेश सरकार बजेट सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुटेको छ। आगामी आर्थिक वर्षको बजेट ल्याउन एक साता मात्र बाँकी रहँदा सत्तारूढ दलहरूभित्र मन्त्रालय बाँडफाँट र प्रतिनिधित्वबारे छलफल तीव्र बनेको हो।
मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलभित्र देखिएको असन्तुष्टि व्यवस्थापन गर्न तथा गठबन्धन दलबीच नयाँ समीकरण मिलाउन मन्त्री हेरफेरको गृहकार्य अघि बढाएका छन्। कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीका अनुसार कांग्रेस र एमाले दुवैका तर्फबाट मन्त्रीहरू फेरिनेछन्।
एमालेले नयाँ मन्त्रीका लागि सन्तोष थापा शर्मा, चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमको नाम सिफारिस गरिसकेको छ। हाल एमालेको भागमा रहेका आन्तरिक मामिला तथा कानुन, भूमि व्यवस्था तथा कृषि, र भौतिक पूर्वाधार विकास मन्त्रालयमा नेतृत्व परिवर्तन हुने सम्भावना छ। एक राज्यमन्त्रीसमेत फेरिने तयारी छ।
कांग्रेसतर्फ मुख्यमन्त्रीबाहेक तीन मन्त्री र दुई राज्यमन्त्री परिवर्तन हुने स्रोतले जनाएको छ। बजेटअघि हुने भनिएको पुनर्गठनलाई प्रदेश सरकारको आगामी राजनीतिक तथा कार्यसम्पादन दिशासँग जोडेर हेरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |