


काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि आइतबार चीन प्रस्थान गर्दैछन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा उनले बेइजिङमा समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा नेपाल-चीन सम्बन्ध, विकास साझेदारी, आर्थिक सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुनेछ । मन्त्री खनालले चीन सरकारका उच्चस्तरीय पदाधिकारीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुँदै उनले चिनियाँ व्यवसायी समुदायलाई नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउनेछन् । सम्मेलनको उद्देश्य नेपालमा वैदेशिक लगानी आकर्षित गर्नु रहेको जनाइएको छ ।
त्यसैगरी, नेपाली राजदूतावासद्वारा आयोजित स्वागत कार्यक्रममा मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन् । खनाल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगना र बेइजिङस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाललगायत सहभागी छन् ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |