


सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशसभाको सोमबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले प्रस्तुत गरेको बजेटमा विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिँदै पुँजीगत खर्चतर्फ २० अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ।
चालूतर्फ ८ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको बजेट चालु आर्थिक वर्षको तुलनामा ७।२८ प्रतिशतले बढी हो। स्थानीय तहलाई वित्तीय हस्तान्तरणका लागि ५ अर्ब ५४ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले आन्तरिक आय, चालु वर्षको बचत, संघीय राजस्व बाँडफाँट तथा विभिन्न प्रकारका संघीय अनुदानलाई प्रमुख स्रोतका रूपमा उल्लेख गरेको छ। संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त, समपुरक र विशेष अनुदानमार्फत बजेटको ठूलो हिस्सा व्यवस्थापन गरिने जनाइएको छ।
कर्णाली सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षको बजेटले पूर्वाधार विकास, स्थानीय तहको सशक्तीकरण तथा सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको सरकारको दाबी छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |