


काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा विशेष अदालतमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई मंगलबार काठमाडौं ल्याएर अदालतमा पेस गरिएको हो।
अदालतमा उनीमाथि थप अनुसन्धानका लागि म्याद माग्ने तयारी सरकारी पक्षले गरेको छ। यता, पक्राउ प्रक्रिया नै गैरकानुनी रहेको दाबी गर्दै पौडेल पक्षका कानुन व्यवसायीहरूले त्यसविरुद्ध बहस गर्ने तयारी गरेका छन्।
विभाग निकट स्रोतका अनुसार पौडेलको सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे उठेका शंकाका आधारमा अनुसन्धान अघि बढाइएको हो। उनलाई नियन्त्रणमा लिनुअघि अनुसन्धान टोलीले उनको निवासमा समेत खानतलासी गरेको बताइएको छ।
विशेष अदालतले म्याद थपबारे निर्णय गरेपछि उनीमाथिको अनुसन्धानको आगामी प्रक्रिया तय हुने जनाइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |