


काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला केन्द्रीय सदस्यतर्फ भएको निर्वाचनमा स्वर्णिम वाग्ले सर्वाधिक मतसहित पहिलो स्थानमा परेका छन्। महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको प्रारम्भिक मतपरिणामअनुसार वाग्लेले २ हजार ६ सय ७ मत प्राप्त गरेका हुन्।
उनलाई सोविता गौतम ले २ हजार ५ सय ९४ मतसहित पछ्याएकी छन्। यस्तै शिशिर खनाल ले २ हजार ४ सय ९५ मत प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गरेका छन्। खुलातर्फ ३५ केन्द्रीय सदस्य चयनका लागि मतदान भएको थियो।
मतगणनामा सागर ढकाल ले २ हजार ३ सय ३३, तोसिमा कार्की ले २ हजार २ सय ५७, रञ्जु दर्शना ले २ हजार २ सय ४९ तथा मनिष झा ले २ हजार २ सय ३७ मत प्राप्त गरेका छन्।
यस्तै, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्य र रमेश प्रसाईं ले पनि दुई हजारभन्दा बढी मत ल्याएका छन्। मतपरिणामले पार्टीभित्र स्थापित र चर्चित नेताहरूको प्रभाव अझै बलियो रहेको संकेत गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |