


चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पहिलो राष्ट्रिय महाधिवेशनपछि पार्टीले विगतका कमजोरीबाट पाठ सिक्दै थप परिपक्व ढंगले राजनीतिक यात्रा अघि बढाउने बताएका छन्।
महाधिवेशनबाट निर्विरोध सभापतिमा निर्वाचित भएपछि शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले चार वर्षको यात्रामा देखिएका संगठनात्मक र कार्यशैलीगत कमजोरीलाई आत्मसमीक्षामार्फत सुधार्ने प्रतिबद्धता व्यक्त गरे।
लामिछानेले पहिलो महाधिवेशनले रास्वपालाई राजनीतिक रूपमा थप वैधानिक र संस्थागत बनाएको दाबी गर्दै अब पार्टीको व्यवहार र कार्यक्रममै परिपक्वता झल्किनुपर्ने बताए। उनले महाधिवेशनलाई संगठनको वास्तविक अवस्था मूल्यांकन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै प्रतिनिधिहरूले देखाएको धैर्य र सहभागिताप्रति आभार व्यक्त गरे।
निर्वाचनमा प्रतिस्पर्धा स्वाभाविक प्रक्रिया भए पनि त्यसको परिणामलाई क्षणिक रूपमा लिनुपर्ने उनको भनाइ थियो। सभापतिका रूपमा आफूले निर्वाचन प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप नगरी संगठनको वास्तविक अवस्था बुझ्ने प्रयास गरेको बताउँदै उनले अब पार्टीलाई अझ व्यवस्थित, जिम्मेवार र प्रभावकारी रूपमा अघि बढाउने संकेत गरे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |