


काठमाडौँ : उच्च अदालत जनकपुरले मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको ठहर गर्दै एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पाँच वर्ष कैद सजाय सुनाएको छ।
कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले जिल्ला अदालत महोत्तरीको सफाइ दिने फैसला उल्ट्याउँदै उक्त निर्णय गरेको हो।
२०७२ भदौ २५ मा मधेश आन्दोलनका क्रममा महोत्तरीमा घाइते भएका थमन विकलाई उपचारका लागि जनकपुर लैजाँदै गर्दा सनोखडामा एम्बुलेन्स रोकिएपछि आन्दोलनकारीले खेतबाट निकालेर सांघातिक आक्रमण गरी हत्या गरेको अभियोग थियो। घटनापछि फरार रहेका कोइरी २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए भने जिल्ला अदालतले २०८० मा सफाइ दिएको थियो।
उच्च अदालतले प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरविरुद्धको जन्मकैदको फैसला सदर गरेको छ। साथै अभिराम शर्मा, धमेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको सजाय संशोधन गर्दै पाँच–पाँच वर्ष कैद कायम गरेको छ। पवन कापरलाई पनि सफाइ दिने फैसला उल्ट्याएर पाँच वर्ष कैद सजाय सुनाइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |