


बहुचर्चित टेरामक्स प्रविधि खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सफाइ पाएका छन्। विशेष अदालतले सोमबार सुनाएको फैसलामा नेपाल दूरसञ्चार प्राधिकरणका तीन पूर्वपदाधिकारीलाई भने दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ।
न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मन्त्रीका रूपमा बस्नेतले प्रविधि भित्र्याउने नीतिगत निर्णय मात्रै गरेको र खरिद प्रक्रिया तथा आर्थिक निर्णयमा उनको प्रत्यक्ष संलग्नता पुष्टि नभएको ठहर गरेको हो। अख्तियारले दाबी गरेअनुसार उनले व्यक्तिगत लाभ लिएको प्रमाणसमेत पेश हुन नसकेपछि अदालतले उनलाई सफाइ दिएको हो।
अदालतले तत्कालीन अध्यक्ष दिगम्बर झालाई एक वर्ष कैद तथा सार्वजनिक संस्थाको प्रमुख रहेकाले थप ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ। पूर्वसचिव धनराज ज्ञवाली र बोर्ड सदस्य टीकाप्रसाद उप्रेतीलाई जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।
अख्तियारले करिब ३ अर्ब २१ करोड रुपैयाँ राज्यलाई नोक्सानी पुगेको दाबी गरे पनि अदालतले काम सम्पन्न भएअनुसार मात्रै भुक्तानी भएको भन्दै बिगो कायम गर्न नमिल्ने निष्कर्ष निकालेको छ। यससँगै लामो समयदेखि चर्चामा रहेको टेरामक्स प्रकरणले न्यायिक टुंगो पाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |