


टीकाराम रेग्मी
आज ताकमकोटका पुराना भग्नावशेष, गलेश्वरको धार्मिक आस्था, ढोलठानाका ऐतिहासिक स्मृति, कालीगण्डकीको किनार हुँदै जोमसोमसम्म फैलिएका पुराना व्यापारिक पदमार्ग र बागलुङका कोटहरू निस्तब्ध देखिन्छन्। तर केही शताब्दीअघि यिनै भूभाग पश्चिम नेपालको एक शक्तिशाली राज्य-पर्वत राज्य-का जीवन्त साक्षी थिए। यहाँ व्यापार फस्टाएको थियो, प्रशासन व्यवस्थित थियो, कृषि उत्पादनले अर्थतन्त्र धानेको थियो र हिमालदेखि पहाडसम्म राजनीतिक प्रभाव फैलिएको थियो।
कालीगण्डकी नदी केवल नदी मात्र थिएन; यो सभ्यता, संस्कृति र व्यापारलाई जोड्ने जीवनरेखा थियो। यही नदीको किनार हुँदै ताकमकोट, बेनी, गलेश्वर, जोमसोम र मुस्ताङसम्म पुग्ने व्यापारिक मार्गले नेपाल र तिब्बत (भोट) बीच आर्थिक सम्बन्धलाई बलियो बनाएको थियो। नुन, ऊन, घोडा, जडीबुटी, धातु तथा दैनिक उपभोगका सामग्री यही मार्गबाट ओहोरदोहोर गर्थे। व्यापारबाट उठ्ने भन्सार र कर पर्वत राज्यको आयको महत्वपूर्ण स्रोत बनेका थिए।
तर पर्वत राज्यको समृद्धि केवल बाह्य व्यापारमा सीमित थिएन। यसको आफ्नै प्राकृतिक स्रोत र उत्पादन प्रणाली पनि उत्तिकै महत्वपूर्ण थियो। म्याग्दीको ढोलठाना क्षेत्र यस सन्दर्भमा विशेष उल्लेखनीय मानिन्छ। स्थानीय परम्परा तथा केही ऐतिहासिक सामग्रीमा यहाँ टक्सार अर्थात् सिक्का निर्माण केन्द्र सञ्चालन भएको उल्लेख पाइन्छ। यदि यो तथ्य थप अनुसन्धानबाट प्रमाणित हुन्छ भने यसले पर्वत राज्यको आर्थिक संगठन, धातु स्रोतको उपयोग र प्रशासनिक क्षमताको उच्च स्तरलाई पुष्टि गर्नेछ।
फलेवास तथा आसपासका क्षेत्रबाट प्राप्त तामा र अन्य धातु हतियार, कृषि औजार तथा सम्भावित रूपमा सिक्का निर्माणमा प्रयोग हुने गरेको स्थानीय परम्पराले बताउँछ। व्यापार, कृषि, खानी तथा धातु उत्पादनको समन्वयले पर्वत राज्यलाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको अनुमान गर्न सकिन्छ।
स्थानीय वंशावली तथा ऐतिहासिक परम्पराअनुसार पर्वतका मल्ल शासकहरूले विभिन्न रणनीतिक स्थानमा कोट स्थापना गरी आफ्ना विश्वासपात्र तथा राजपरिवारका सदस्यलाई प्रशासन, कर सङ्कलन, सैनिक व्यवस्थापन र सीमा सुरक्षाको जिम्मेवारी दिएका थिए। यही सन्दर्भमा “सात कोट र सात सामन्त” भन्ने अवधारणा स्थानीय इतिहासमा प्रचलित छ। ताकमकोट, विहादीकोट, सिल्मीकोट, पाकुवाकोट, देउपुरकोट लगायतका स्थानहरू यस्ता प्रशासनिक तथा सैनिक केन्द्रका रूपमा परिचित छन्। यद्यपि यी विवरणलाई थप अभिलेखीय र पुरातात्त्विक अध्ययनबाट पुष्टि गर्नुपर्ने आवश्यकता अझै रहेको छ।
पर्वत राज्यको दक्षिणी तथा पश्चिमी सीमाको सुरक्षामा बागलुङ क्षेत्रको भूमिका पनि उल्लेखनीय थियो। यहाँ रहेका कोट र गढीहरूले सीमाको निगरानी गर्नुका साथै व्यापारिक मार्गको सुरक्षा र सम्भावित बाह्य आक्रमणको प्रतिरोध गर्ने काम गर्थे। विहादीकोटलाई दक्षिणतर्फको महत्वपूर्ण सुरक्षा केन्द्रका रूपमा लिइन्छ।
निसीभुजी क्षेत्रले पनि पर्वत राज्यको राजनीतिक इतिहासमा विशेष स्थान ओगटेको छ। स्थानीय वंशावली र मौखिक इतिहासअनुसार भुजेल समुदायले रुकुमका राजवंशसँग सम्बन्धित आनन्द शाहीलाई यस क्षेत्रमा ल्याई नेतृत्व प्रदान गरेको उल्लेख पाइन्छ। यस्ता परम्पराले पश्चिम नेपालको इतिहासमा स्थानीय समुदाय र राजवंशबीचको सम्बन्धलाई उजागर गर्छन्, यद्यपि यी विषयमा थप अनुसन्धान आवश्यक छ।
पर्वत राज्यको आर्थिक मेरुदण्ड भने कृषि नै थियो। कालीगण्डकी, मोदीखोला तथा आसपासका उर्वर फाँटहरूमा धान, मकै, कोदो, गहुँलगायत अन्न उत्पादन हुन्थ्यो। ज्ञदी, मल्लाज, फलेवास लगायतका क्षेत्रले राज्यको खाद्यान्न भण्डार र राजस्व व्यवस्थालाई सुदृढ बनाएका थिए। राज्य सञ्चालनमा योगदान पुर्याउने विद्वान, धार्मिक व्यक्तित्व तथा सेवक वर्गलाई बिर्ता दिने परम्पराले प्रशासनिक र सामाजिक संरचनालाई थप मजबुत बनाएको देखिन्छ।
अठारौँ शताब्दीको उत्तरार्धमा गोरखा राज्यको विस्तारसँगै पश्चिम नेपालका विभिन्न राज्यहरू क्रमशः नेपाल एकीकरण प्रक्रियामा समाहित भए। पर्वत राज्य पनि यही प्रक्रियामा गाभियो। स्वतन्त्र राजनीतिक अस्तित्व समाप्त भए पनि यसको व्यापारिक सञ्जाल, प्रशासनिक अनुभव, धार्मिक–सांस्कृतिक सम्पदा र ऐतिहासिक संरचनाले पश्चिम नेपालको इतिहासमा अमिट छाप छोडेका छन्।
आज ताकमकोटका भग्नावशेष, ढोलठानाका ऐतिहासिक स्मृति, गलेश्वर, मुस्ताङका पुराना व्यापारिक मार्ग, बागलुङका कोट तथा पर्वतका अन्य ऐतिहासिक स्थलहरूले हाम्रो विगतको कथा सुनाइरहेका छन्। ती सम्पदाको संरक्षण, वैज्ञानिक अनुसन्धान र अभिलेखीकरण आजको आवश्यकता हो। इतिहास केवल पुस्तकका पानामा सीमित हुँदैन; त्यो भूगोल, संस्कृति, स्मृति र जनजीवनमा जीवित रहन्छ।
ताकमकोटदेखि जोमसोमसम्म फैलिएको पर्वत राज्यको इतिहास वास्तवमा हिमाल र पहाडलाई जोड्ने व्यापार, स्थानीय उत्पादन, प्रशासनिक दक्षता, सांस्कृतिक सहअस्तित्व र आत्मनिर्भर अर्थतन्त्रको साझा गाथा हो। यो पश्चिम नेपालको गौरवपूर्ण अतीत मात्र होइन, भविष्यका अनुसन्धानका लागि पनि उत्तिकै महत्वपूर्ण सम्पदा हो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |