


काठमाडौं : सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित बजेट फागुन मसान्तभित्रै खर्च गरिसक्न सबै मन्त्रालय र निकायलाई निर्देशन दिएको छ।
अर्थ मन्त्रालयले जारी गरेको बजेट कार्यान्वयन मार्गदर्शनअनुसार फागुनसम्म खर्च हुन नसक्ने बजेट २०८३ चैत १५ भित्र अर्थ मन्त्रालयमा समर्पण गर्नुपर्ने व्यवस्था गरिएको छ। बजेट खर्चमा ढिलाइ, अन्तिम समयमा हुने अस्वाभाविक खर्च र दोहोरो कार्यक्रम नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
मार्गदर्शनले मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश कार्यक्रमलाई स्वीकृत कार्यक्रम मानी निकासा दिने, दोहोरो प्रविष्टि भएका कार्यक्रम रोक्का गरी बजेट फिर्ता गर्ने तथा ससर्त अनुदान तोकिएकै उद्देश्यमा मात्र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ। प्रदेश र स्थानीय तहलाई कार्ययोजना, नगद प्रवाह विवरण तथा प्रगति प्रतिवेदन तोकिएको समयमै बुझाउन पनि निर्देशन दिइएको छ।
वैदेशिक सहायता प्राप्त आयोजनामा वित्तीय सम्झौता प्रभावकारी नभएसम्म बजेट खर्च रोक्का रहने, शोधभर्ना प्रक्रिया समयमै अघि नबढाए अर्को त्रैमासिकको निकासा रोक्ने र आयोजना कार्यान्वयनमा वित्तीय जोखिम व्यवस्थापनलाई अनिवार्य बनाइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |