


केशवप्रसाद चौलागाईं
“ॐ अथ पुरुषो ह वै नारायणोऽकामयत प्रजाः सृजेयेति।”
भगवान् नारायणले प्रजा सृष्टि गर्ने सङ्कल्प गर्नुभयो भन्ने नारायण उपनिषद्को यो वचनले सृष्टि संरचना भगवान् नारायणबाट भएको हो भन्ने पुष्टि हुन्छ। सनातन हिन्दू मान्यता अनुरूप चार युगको पनि प्रसङ्ग आउने हुँदा चारै युगमा भगवान् नारायणको स्मरण र प्रार्थना गरिने अभ्यासलाई पाटन दरबार क्षेत्रमा अवस्थित चार नारायण मन्दिरले निरन्तरता दिइरहेको छ। सत्य, त्रेता, द्वापर र कलियुगको वर्तमान अवस्थामा भगवान् नारायणको उपस्थितिलाई जीवन्त बनाइराख्ने चार नारायण मन्दिर देश–विदेशका पर्यटकहरूका लागि पनि आकर्षणको केन्द्र रहेको छ। नेपाल संवत् ६८६ (वि.सं. १६४७) मा महापात्र पुरन्दर सिंहको पालामा निर्माण गरिएको अभिलेखबाट जानकारी हुनाका साथै मन्दिरका पुजारी तथा विद्वान् स्वर्गीय मदनमोहन मिश्रजीका लेखनहरूबाट पनि जानकारी पाइन्छ।
दरबार क्षेत्रको सबैभन्दा पुरानो मन्दिरका रूपमा रहेको नारायणको चारमुखे लिङ्ग–योनि आकृतिमाथि शिवलिङ्गको आकारमा स्थापित हुनुका पछाडि पनि धार्मिक सहिष्णुता, एकताको सन्देश दिन खोजिएको छ। एघार रुद्रको उत्पत्ति नारायणबाट हुन्छ भन्ने नारायण उपनिषद् तथा “जो रुद्र हुनुहुन्छ, उहाँ नै भगवान् हुनुहुन्छ र उहाँ नै विष्णु हुनुहुन्छ, उहाँलाई बारम्बार नमस्कार गर्दछौं” भन्ने शिवअथर्वशीर्षको संयोजन भएको देखिन्छ। शास्त्र तथा दर्शनको उन्नत, उचित प्रयोग चार नारायण मूर्तिमा देख्न पाइने हुनाले सृष्टि र ज्ञानको उन्नत अवस्था रहेको बुझ्न सकिन्छ। ने.सं. ७७२ मा ललितपुरका विद्वान् ब्राह्मण कुनु शर्माले आफ्नो ऐतिहासिक कृति “कीर्तिपताका” मा पनि यस मन्दिरका विषयमा सुन्दर वर्णन गर्नुभएको पाइन्छ।
“उत्तम देवल, सुन्दर कला, अनेक छाना, बनावटी पुतलीहरू, अनेक देवप्रतिमा, नाना झ्याल, तोरण, सुनौला अग्ला कलश, द्वारमा उत्तम सिंह, नाना कृत्रिम पुतली प्रतिनिधि उच्च कौतुक भएका देवलमा विष्णु विराजमान हुनुहुन्छ। सङ्कर्षण, विश्वकेतु, मदन आदि अवतार र अन्य देवताहरू पनि साथै छन्। हातमा सबैका शङ्ख, चक्र, गदा, पद्म, मुसल, शार्ङ्गबाण, खड्ग, ढाल इत्यादि आयुधले वैकुण्ठजस्तै छ।”
सबै विद्वान्हरूको पनि रोजाइमा रहेको चार नारायण; दर्शन, साहित्य र कलाको हिसाबले नेपालको गौरवगान गर्ने मन्दिर भएकाले सौम्य शक्तिका रूपमा पनि प्रभावकारी रहेको छ। दरबार क्षेत्रमा सँगै रहेका राधाकृष्ण मन्दिर, हरिशङ्कर मन्दिर, नृसिंह मन्दिर, कृष्ण मन्दिर, विश्वनाथ मन्दिर, भीमसेन मन्दिर, कोपेश्वर मन्दिर, छिन्नमस्ता देवी, मणिगणेश, केशवनारायण लगायतका देवी–देवताहरूको दर्शन तथा साधनाका लागि अरबौं जनसङ्ख्या भएको भारतका हिन्दूहरू लालायित हुने गर्दछन्। कार्तिक नाच, नृसिंह जात्रा, नारायण उपनिषद् लगायत शिव, गणेश, देवी तथा सूर्य उपनिषद्को पारायण तथा साधना पनि भविष्यमा हिन्दू धर्मावलम्बीहरूका लागि आकर्षणको केन्द्र बन्नेछ। नारायण तीर्थ बन्न गई धार्मिक पर्यटनको एक प्रमुख स्रोत बन्नेछ।
“ॐ नमो नारायणाय”
अष्टाक्षरी प्रसिद्ध मन्त्रको जप–साधना गर्दै चार नारायणको दर्शन, परिक्रमा तथा दैनिक आयोजना गरिइने प्रदर्शनी तथा छलफल सभ्यता–संवादको महत्त्वपूर्ण पक्ष बन्नेछ। सबैले आफ्नो ठान्ने स्वराज्यको अनुभूतिदेखि सहअस्तित्व र मेलमिलापको केन्द्र बन्नेछ। सृष्टि, ज्ञान र सम्पदाको विश्वकेन्द्र बन्नेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |