


काठमाडौँ : प्रदेश सरकारहरूको नेतृत्व र सत्ता समीकरणलाई स्थिर बनाउने उद्देश्यसहित नेकपा एमाले र नेकपाबीच तीनबुँदे राजनीतिक सहमति भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिअनुसार दुवै दलले प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन्।
सहमतिपत्रमा पछिल्ला दिनमा प्रदेश तहमा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्थिर राजनीतिक प्रतिस्पर्धाले प्रदेश सरकारको प्रभावकारितामै प्रश्न उठाएको निष्कर्ष निकालिएको छ। ती समस्यालाई अन्त्य गर्दै प्रदेशमा राजनीतिक स्थिरता कायम गर्ने, सुशासन प्रवर्द्धन गर्ने, विकास आयोजनालाई गति दिने र जनअपेक्षाअनुसार समृद्धिको आधार तयार गर्ने प्रतिबद्धता पनि दुवै दलले व्यक्त गरेका छन्।
दुवै पक्षले प्रदेश सरकार सञ्चालनलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउन साझा समझदारीका आधारमा अघि बढ्ने जनाएका छन्। सहमतिलाई प्रदेशस्तरको सत्ता सहकार्यलाई संस्थागत गर्ने दिशामा महत्वपूर्ण राजनीतिक कदमका रूपमा हेरिएको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |