


काठमाडौँ : नेपालको विरोधलाई बेवास्ता गर्दै भारत र चीनले विवादित लिपुलेक नाका हुँदै द्विपक्षीय व्यापार पुनः सुरु गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार चीनले पहिलो चरणमा २० भारतीय व्यापारीलाई तिब्बत प्रवेशको अनुमति दिएको छ। भारतले १५५ प्रकारका वस्तु आयातका लागि ६२ व्यापारी र ९३ सहयोगी पठाउने निर्णय गरेको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार शनिबार १६ व्यापारी र चार सहयोगी लिपुलेक हुँदै तिब्बत प्रवेश गरेका छन्। यसबारे गृह मन्त्रालयलाई जानकारी गराइसकिएको उनले बताए भने परराष्ट्र मन्त्रालयले घटनाक्रम अध्ययन भइरहेको जनाएको छ।
कोभिडपछि बन्द रहेको व्यापार र कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने सहमति भारत र चीनले यसअघि गरेका थिए। नेपालले भने लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो भूभाग भएको अडान दोहोर्याउँदै यसअघि पनि भारत–चीनबीच भएका यस्ता सहमतिप्रति औपचारिक विरोध जनाउँदै आएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |