


काठमाडौँ : सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा र सातवटा संसदीय समितिको बैठक आज बस्दैछ। अपराह्न १ः १५ बजे बस्ने राष्ट्रियसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने मुख्य कार्यसूची छ।
बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन्। त्यस्तै कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित तालिका छ।
यसैगरी बिहान ११ बजेदेखि अर्थ, कानुन, महिला, शिक्षा तथा विकास समितिका बैठकहरू बस्दैछन्। अर्थ समितिमा वित्तीय सङ्घीयता र वित्त आयोगको भूमीकाबारे छलफल हुनेछ भने विकास समितिमा कोप–३१ को तयारीबारे समीक्षा गरिनेछ। अपराह्न १ बजे बस्ने सार्वजनिक लेखा समितिमा भने गृह मन्त्रालयसम्बद्ध उजुरीहरूमाथि छलफल हुने कार्यसूची छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |