

काठमाडौँ : कानुन निर्माण प्रक्रियाबारे आफ्नो अभिव्यक्तिले राष्ट्रिय सभाको गरिमामा आँच पुगेको भन्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले माफी मागेकी छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री गौतमले भदौ २३ गते दिएको अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेकी हुन्। उनले प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डै दुई तिहाइ उपस्थिति रहे पनि राष्ट्रिय सभामा प्रतिनिधित्व नहुँदा कानुन निर्माणमा असहजता भएको बताएकी थिइन्।
उनको उक्त अभिव्यक्तिप्रति राष्ट्रिय सभाका सदस्यहरूले आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण गराएका थिए। नेकपाकी सांसद रेणु चन्दले प्रतिनिधिसभाबाट आएका विधेयक राष्ट्रिय सभामा हालसालै कुनै पनि नरोकिएको दाबी गर्दै मन्त्री गौतमले मिथ्या धारणा प्रवाह गरेको आरोप लगाएकी थिइन्।
चन्दले राष्ट्रिय सभाको भूमिकामाथि प्रश्न उठाउने गरी आएको अभिव्यक्तिले संस्थाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमसँग माफी माग्न आग्रह गरेकी थिइन्। त्यसपछि मन्त्री गौतमले आफ्नो भनाइप्रति माफी मागेकी हुन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |